छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागू औषधसहित ४ जना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२ बस्ने २४ वर्षीय अंकित घिमिरे समेत २ जना रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२–०२८प ७६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सिरहाको लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।