छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
झापाको गौरादह नगरपालिका–२ कार्की चोकमा गौनपाई ५३ नम्बरको सिटि सफारीलाई ना अपसा २५३ नम्बर लेखिएको पिकअप गाडीले बुधबार दिउँसो ठक्कर दिँदा सिटि चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय रघुनाथ काफ्ले रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटिमा सवार २ जनालाई म्याडीम्याक्स अस्पतालमा र गाडी चालकलाई दमक अस्पतालमा उपचारको लागि पठाइएको छ ।

साथै ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा हाल नम्बर नखुलेको बोलेरो गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही नगरपालिका–८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न शंकास्पद बलेरो गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।