छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
मकावनपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० पिस, नुर्फिन १ सय ५० पिस र फेनारगन १ सय ५० पिससहित एक जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ वर्षीय अमित कुमार रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३–००१ ज ७९१ नम्बरको माईक्रो जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी संखुवासभाको धर्मदेवी नगरपालिका–५ याख्खाचोक बस्ने ५० वर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई अवैध लागूऔषध गाँजा ३ सय १६ ग्राम र गाँजा खान प्रयोग गरिने चिलिम १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । दर्जीको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी याख्खाचोकबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २३ वर्षीया स्वस्तिका चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस