सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । सवारीसाधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मकवानपुरको गढी गाउँपालिका–२ धवाडीपुलस्थित सडकमा प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको छेउबाट करिब १२ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ कुर्ले पाखा बस्ने ३४ वर्षीया रुपा स्याङतान र उनकै ५ महिनाको छोरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको छ ।

यसैगरी काभ्रेको रोशी गाउँपालिका–११ डालाबेशीमा बा–४ ख ७५१८ नम्बरको बसले बा.प्र.०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–११ बस्ने ६१ वर्षीया बिन्दा गिरी रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।