काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर दुईवटा गैँडा मारी खाग तस्कर गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ परेका ८ जनालाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
निकुञ्जको चपरचुली सुरक्षा पोस्टबाट करिब ३.५ किलोमिटर दक्षिण–पूर्व चुरे पहाडको फेदी क्षेत्रमा दुईवटा अलग–अलग खाल्डोको धरापमा गैँडा खागविहीन अवस्थामा गत बिहीबार मृत फेला परेका थिए।
ती गैँडा मारेको आरोपमा नेपाली सेनाबाट खटिएको विशेष टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा ब्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाइलगायतले उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ का ३३ वर्षीय रमेश खाती, चितवन राप्ती नगरपालिका– ११ का ४२ वर्षीय पासाङ भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका– ९ घर भई हेटौँडा– ४ बस्ने ४४ वर्षीय शमशेर थिङ र मकवानपुर मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भनिने सीताराम थिङ रहेका छन्।
साथै रोल्पाको सुनछहारी गाउँपालिका– ६ घर भई हेटौँडा– ५ बस्ने २८ वर्षीय अर्जुन रोका, गोरखा बारपाक घर भई चितवन– ११ बस्ने ७७ वर्षीय घले भनिने धनबहादुर गुरुङ, चितवन कोराक गाविस– १ घर भई राप्ती नगरपालिका– ११ बस्ने ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुर मनहरी नगरपालिका– ७ घर भई चितवन माडी नगरपालिका– ९ बस्ने ५६ वर्षीय स्याङ्बो भनिने इन्द्रबहादुर तामाङ रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट दुई थान खाग, एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग भएको फलामको टुक्रा पाँच थान, बिँड नभएको बन्चरो एक थान र चक्कु एक थान प्रहरीले बरामद भएको छ।