बुटवल उप–महानगरपालिका–११, प्रगती नगरका टोपबहादुर कामी यहि जिर्ण घरको एउटा साँघुरो भाडाको कोठामा बस्छन् । कमजोर आर्थिक अवस्थाका कारण टोपबहादुरको परिहवारमा विहान बेलुकाको छाक टार्नसमेत सकस छ ।
यति ठूलो आर्थिक सकस बोकिरहेका टोपबहादुरले शरीरमा अर्को रोगसमेत बोक्नुपर्दा उनलाई आफ्नै जिन्दगीप्रति दिग्दारी लाग्न थालेको छ । उनको शरीरमा रहेका दुईवटै मृगौलाले काम गर्दैन । गएको साउन ११ गते एक्कासी ढलेपछि स्वास्थ्य जाँच गराउँदा मात्रै उनको मृगौलाले काम गर्न छाडिसकेको थाहा भयो ।
कमजोर आर्थिक अवस्थाकै कारण टोपबहादुर आफ्नो शरीरलाई हेरेर यहि जीर्ण घरको एउटा साँघुरो भाडाको काठाभित्र बसेर सुस्केरा हालेर बसिरहेका छन् । साहुको ऋण र भएको अलिकति जायजेथा पनि उपचारमै सकिएपछि उनीसँग अहिले मृत्युसँग लड्नुबाहेक अर्को विकल्प छैन ।
घरको भरोसा कमाउने एकमात्र श्रीमान रोगले थलापरेदेखि श्रीमती बुद्धीसरा कामीका आँखाबाट आँसु ओभाएको क्षण छैन । घरखर्च जोहो गर्नका लागि गाउँटोलमा बुद्धिसरा आफै सहयोग माग्न नहिडेकी पनि होइनन् । तर, छिमेकीले लगाएको तुच्छ बचन उनका लागि कहिल्यै पनि निको नहुनेगरी घाउ बनेर बसिदिएको छ ।
मानिसहरुले गरेको अपहेलना सम्झिएर उनी अहिले पनि भक्कानिन्छिन् । बरु सकिएजति काम गरेर उपचार खर्च जुटाउनतिर लागेकी छिन् । बुद्धिसरा घर व्यवहार चलाउन र श्रीमानको उपचारका लागि खर्च जुटाउनकै लागि घर नजिकैको तिनाउ खोला बगरमा बालुवा चाल्न थालेकी छिन् ।
बिरामी टोपबहादुरका छोरा आयुष कामी अहिले ११ वर्षका भए । उनी गाउँकै विद्यालयमा कक्षा ४ मा पढिरहेका छन् । तर, बिग्रीदै गएको घरको आर्थिक आवस्था र रोगले ओछ्यानमै थला परेका बुबाको अवस्थाले उनले पनि बिचमै पढाई छाड्नुपर्ने अवस्था आईसकेको छ ।
अहिलेसम्म त जेनतेन विद्यालय गएर लेखपढ गरिरहेकै छन्, तर खै, कहिले हो बिचमै पढाई रोक्नुपर्ने न त ११ वर्षका आयुषलाई थाहा छ, न त उनका आमा बुद्धिसरा र बिरामी बुबा टोपबहादुरलाई नै । आयुष पनि अहिले विद्यालय बाहेकको समयमा आमासँगै बालुवा चाल्न जाने गरेका छन ।
सरकारले मृर्गौला पीडितका लागि डायलासिस सेवा निशुल्क गरेको छ । तर बिहान बेलुकाको छाक त टार्नैै पर्यो । टोपबहादुरको परिवारलाई अस्पतालसम्म जान र आवश्यक औषधि खर्च जुटाउन धौधौँ छ । नियमित डायलासिस गर्नुपर्ने भएकाले आफ्नो पालो परेको दिन टोपबहादुरलाई श्रीमती बुद्धिसराले हिडाएरै अस्पतालसम्म लैजाने गरेकी छिन् ।
२०७० सालमा छोरा आयुष जन्मिएपछि पाल्पाबाट कामको खोजीमा बुटवल आएका टोपबहादुरले पाए अनुसारको जेनतेन काम गर्दै आएका थिए । बुटवलमा परिचय बढ्दै गएपछि साथीभाईको सहयोगमा गएको ६ वर्षदेखि उनले मासु पसल पनि चलाए । व्यवसाय राम्रै चलेको भएपनि टोपबहादुर बिरामी परेदेखि व्यवसाय बन्द भयो ।
उसो त, बुटवल उप–महानगरपालिकाले आफ्नो नगरभित्र रहेका मृर्गौला पीडित नागरिकका लागि मासिक पाँच हजार रुपैयाँ सहयोग गर्दै आएको भए पनि टोपबहादुरको स्थायी बसोबास बुटवल नभएका कारण उनी यो सुविधाबाटसमेत बन्चित छन् । गरीब भएकै कारण मृत्यु र भोकसँग लडिरहनुपरेको छ ।
टोपबहादुर आफू बाँचेर परिवार र समाजका लागि धेरै काम गर्न चाहन्छन् । जसरी पनि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन पाए परिवारको भविश्य पनि राम्रो हुने थियो कि भन्ने उनलाई लागेको छ । तर, कमजोर आर्थिक अवस्थाले उनका सबै ईच्छा, चाहनालाई मारिरहेको छ ।
कसैले सहयोग गरिदिए आफू बाँच्ने झिनो आशा भने जिवितै राखिरहेका छन् । यदि कसैले टोपबहादुर कामीलाई सहयोग गर्न चाहनुहुन्छ भने, टोपबहादुरकी श्रीमती बुद्धिसराको नाममा रहेको बैंक खातामार्फत रकम जम्मा गर्न सक्नुहुनेछ । उनलाई सिधै फोनमार्फत सम्पर्क गर्न पनि सकिनेछ ।
सहयोगका लागिः बुद्धिसरा कामी
राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखा खाता नम्बरः ३१२०१००२१०३७२०१०
सम्पर्कका लागि मोबाईल नम्बर । ९८४७३५०१३६
भिडियाेमा हेर्नुहाेस्:-