ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा

दियोपोस्ट संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्सट्रक्सनसहित झण्डै डेढ दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित १७ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित चार कम्पनीलाई साढे दुई वर्ष कालोसूचीमा राखेको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

कान्छाराम भनिने ऊर्जा राज्यमन्त्री तामाङ नेपाली कांग्रेसका नेतासमेत हुन् ।