
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्यालसँग प्रहरीले सोधपुछ गरेर उनले भ्रम फैलाउन खोजेको निष्कर्ष निकालेको छ । ऋषि धमलासँगको टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।
गोरखा स्थायी घर भएर काठमाडौं बस्दै आएका नवराज अर्याललाई निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गरेकाले मङ्गलबार पक्राउ गरिएको थियो । तर, आज भने उनी फरार छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अर्याललाई सम्बन्धित विषयमा ४ घण्टा सोधपुछ गरेर आज उपस्थित हुने सर्तमा छाडिएको थियो ।
प्राइम टेलिभिजनको अन्तर्वार्तामा पुगेका अर्यालले आफूले १६ जना मन्त्रीको गाडी चलाएको र त्यही क्रममा कञ्चनपुर पुग्दा त्यो घटना देखेको दाबी गरेका थिए ।
टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला समेत सीआईबीको नियन्त्रणमा छन् । अहिले धमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।