काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका छन्। स्थानीयको आन्दोलनपछि समस्या समाधानका लागि मन्त्री घिसिङ स्वयं त्यहाँ पुगेका हुन्।
स्थानीयवासीहरूले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबारदेखि फोहोर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइट प्रवेशमा रोक लगाएका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म फोहोर विसर्जन कार्य अवरुद्ध राख्ने अडान लिएका छन्।
धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाका अनुसार, फोहोर विसर्जन कार्य वैज्ञानिक र दिगो ढङ्गले हुनुपर्ने, साथै विगतको १८ बुँदे सहमति तत्काल लागू गर्नुपर्ने स्थानीयको माग रहेको छ।
२०७९ जेठ २६ गते काठमाडौं महानगरसँग भएको उक्त सहमतिअनुसार फोहोर रातिको समयमा मात्र विसर्जन गर्ने, दुर्गन्ध नियन्त्रण गर्ने, फोहोर बोकेका गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउने र लिच्चड खोलामा नपस्ने गरी वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने उल्लेख थियो।