काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले राजीनामा दिए। शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यता त्यागेको घोषणा गरेका हुन्।
उनले वैकल्पिक राजनीतिक अभियानमा योगदान दिन पाएकोमा कृतज्ञता व्यक्त गर्दै पार्टीभित्र विचार निर्माण र बहसलाई संस्थागत गर्न नसकिएकोमा खेद प्रकट गरेका छन्।
परियारका अनुुसार हालैको जेनजी विद्रोहले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै नेपाली राजनीतिलाई नयाँ दिशातर्फ धकेलेको छ। यस आन्दोलनले समकालीन नेपाली समाजमा नयाँ चेतना निर्माण गरेको र अहिलेको राजनीतिक संरचना अब यथास्थितिमा अगाडि बढ्न नसक्ने स्पष्ट भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन्।
बदलिँदो राजनीतिक वातावरणलाई आत्मसात गर्दै नयाँ प्रकारको अभियानमा सक्रिय हुनुपर्ने भएकाले रास्वपा छाड्ने निर्णय गरेको परियारले बताए। उनले रास्वपाका सबै साथीप्रति आभार व्यक्त गर्दै भविष्यमा देश र समाज रूपान्तरणको यात्रामा सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।