काठमाडौं, १७ कार्तिक । अमेरिकामा ‘प्लेन’ बनाएर आफै उडाएर चर्चामा आएका नेपाली युवा प्रमोद रेग्मीलाई धादिङमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।
धादिङको ज्वालामुखि गाउँपालीका ४ ढोलामा रहेको एकीकृत नमुना बस्तीमा उनीहरुलाई प्रदेश सांसदद्वय जगत सिंखडा र डा. रामकुमार अधिकारीले सम्मान सम्मान गरेका हुन् ।
२०७२ सालको वैशाख १२ को भूकम्पपछि विस्तापित बनेका धादिङको उत्तरी विकट क्षेत्र रुभीभ्याली गाउँपालीका अन्तर्गत लापाबाट समाज सेवी दिनेश तामाङले भूकम्पपीडितहरुलाई ढोला बसाई सारेका थिए । तामाङकै सक्रियतामा एकीकृत बस्ती निर्माण संभव भएको थियो ।
सोही बस्तीमा आयोजित कार्यक्रममा रेग्मी र एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मि शर्मालाई सम्मान गरिएको हो ।
कार्यक्रममा धादिङका प्रदेश सांसद जगत सिंखडाले एकीकृत बस्तीमा युवाहरुलाई खेल सामग्री हस्तान्तरण गर्नुका साथै सडक दुर्घटनामा निधन भएकी उनकी पत्नि लक्ष्मि सिंखडाको नाममा उक्त बस्तिमा बृक्षरोपणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरे ।
सांसद सिंखडाले आफूलाई एकीकृत बस्तीका जनताले भोट दिएर सांसद बनाएको र आफूले पाएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।
उनले अहिले युवा पंतिमा राजनीतिदेखि वितृष्ण पैदा भएकाले राजनीतिक संस्कारमा सुद्धता ल्याउन सके राजनीतिमा फेरी चासो बढ्न सक्ने बताए ।
त्यस्तै अर्का प्रदेश सांसद डा. राम कुमार अधिकारीले आफू बस्ती आउन धुलाम्मे सडक भएर आएको र आगामी आर्थिक वर्ष भित्र उक्त वस्ती आउने सडक स्तरोन्नती गर्ने बताए ।
उनले एकीकृत बस्ती निर्माणका लागि सहयोग गर्ने सेतो गुम्बा, चाईल्ड हेभन ईन्टरनेश्नल, क्यानडा नेपाल लगायत संस्थालाई धन्यवाद दिए ।
कार्यक्रममा सम्मानित हुने एसियाको पहिलो महिला टेम्पो चालक लक्ष्मि शर्माले उक्त बस्तीमा कम्पोस्ट मल बनाउन भन्दै ९० हजार ५ सय ५० रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
यता नेपालकै पहिलो इ पाइलट प्रमोद रेग्मीले आफूले एकीकृत बस्तीमा आयआर्जन कार्यक्रमका लागि सहयोग कोष सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
सम्मान कार्यक्रममा रेग्मीले आफूले अनुभव समेत राखेका थिए । उनले एकीकृत बस्ती निर्माणका अभियान्ता तथा नागरिक वर्ष नायक दिनेश तामाङले आफूले भन्दा कयौँ गुणा महान कार्य गरेको भन्दै प्रसंसा गरे । ‘मैले त मेरो लागि हवाई जहाज बनाएँ । तर, दिनेशजीले सयौँ विस्तापितहरुका लागि एकल प्रयासमा यत्तिका बस्ती बनाउनु भयो,’ प्रमोदले भने,‘उहाँ महान हुनुहुन्छ । उहाँले राज्यको झन्जटिलो मापदण्डलाई पनि छिचोल्दै बस्ती बसाल्न सक्नु भएको छ । मैले रकेट नै बनाएर चन्द्रमाको दुई फन्को लगाएर आएपनि दिनेश तामाङको तुलनामा केही होइन । त्यसकारण मैले दिनेश तामाङलाई मानेको छु ।’