काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिगको अन्तिम खेल आज हुँदै छ । पोखरा रंगशालामा विहान ११ बजेबाट शुरु हुने खेल पारस खड्काको चितवन राइनोज् र शरद् भेष्वाकरको कप्तानीमा रहेको आयोजक टिम पोखरा पल्टनबिच हुँदै छ । पाँच खेलबाट दुबै टिमले ३ जित र २ हार ब्यहोर्दै फाइनल यात्रा तय गरेका हुन्। पहिलो दुई खेलमा पराजित भएको चितवनले त्यसपछिका खेलहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै फाईनलसम्म आईपुगेको हो । लिग चरणको अन्तिम खेलमा चितवनले विराटनगरलाई हराउँदै प्लेअफमा स्थान पक्का बनाएको थियो । प्ले अफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेका हुलास काठमाडौँ रोयल्सलाई नमिठो हार चखाउँदै चितवन उपाधी दाबेदारको रुपमा प्रस्तुत भएको हो ।
आयोजक टोली पोखराले भने शुरुवातीदेखि नै उत्कृष्ठ प्रदर्शन गरको थियो । पहिलो खेल विराटनगरलाई ५८ रनले पराजित गर्न सफल भएको थियो भने बुटवलसंग दोस्रो खेल खेल्दै ३३ रनले विजयी भएको थियो । लिग चरणको अन्तिम खेलमा काठमाडौँविरुद्ध सानदार जित निकाल्नु अगाडी पोखराको स्थिति निकै नै नाजुक रहेको थियो । अन्तिम खेलमा पोखराले एक्सपर्ट धनगढीमाथि जित संगै रनरेटमा पनि सुधार गरि फाइनल यात्रा तय गरेको थियो ।
यस्तो छ इतिहास
शरद भेष्वाकर र पारस खड्का आमनेसामने भएको यो पहिलो पटक भने होइन । यसअघिका २ लिगको फाइनल खेलमा शरद र पारस आमनेसामने भइसकेका छन् । सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिग ( डिपिएल)को फाइनल खेलमा पारसको कप्तानी रहेको धनगढीको टिम चौराहाले शरदको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै उपाधि चुमेको थियो । सोही बर्षको डिसेम्बरमा काठमाडौँमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेलमा पनि शरद र पारस आमनेसामने भएका थिए । पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किंग्सले शरदको नेतृत्वमा रहेको भैरहवा ग्ल्याडियटर्सलाइ मात्र १ रनले पराजित गर्दै उपाधी जितेको थियो । मंगलबार हुने फाइनल खेलमा पारसले शरदविरुद्ध ह्याट्रिक जित प्राप्त गर्ने या शरदले अघिल्ला दुई फाइनलमा बेहोरेको पराजयको बदला लिने भन्ने कुरा खेलले निश्चित गर्छ ।
विदेशी खेलाडीको भर
चितवन राईनोज् र पोखरा पल्टन फाइनलसम्म आईपुग्दा दुबै टोलीमा विदेशी खेलाडीको प्रदर्शन लोभलाग्दो देखियो । पोखराका तीब्र गतिका बलर मोहम्मद नाभेदको प्रदर्शन उत्कृष्ठ रहेको थियो । उनले काठमाडौँसंगको खेलमा तीन छक्का प्रहार गरेका थिए । खेलको पहिलो इनिङ्समा अर्का भारतिय खेलाडी रविन्दर सिंहको प्रदर्शन महत्वपुर्ण बन्यो । चितवन राइनोज्ले शुरुवाती दुई खेल पराजित भएपनि विदेशी खेलाडीकै भरमा उपाधि यात्रासम्म आईपुगेको छ । सन्नी पटेलको बलिङ र उत्कृष्ठ ब्याटिङको भरमा नै चितवन फाइनलसम्म आईपुगेको छ । उनले प्रतियोगिताको ६ खेलमा १५१ रन बनाएका छन् । चितवनमा करण केसी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शीर्ष स्थानमा छन् । पोखराका विपिन खत्री र चितवनका स्मित पटेलले समान सातसात विकेट लिएका छन् । दुबै टिमका कप्तानले भने अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् यद्यपी मंगलबारको उपाधिका लागि हुने खेलमा भने प्रदर्शनमा सुधार गर्ने लयमा छन् ।
दर्शकको बाक्लो उपस्थिति
सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग गर्नुअगाडी आयोजकलाई दर्शकको उपस्थितिलाई लिएर चिन्ता थियो । तर खेलहरु हुँदै जाँदा अपेक्षा गरिएको भन्दा धेरै संख्यामा दर्शकहरुको समेत उपस्थिति बढेको छ । शुरुवाती दिनदेखी नै अस्थायी प्याराफिट खचाखत भरिएपछि आयोजक पनि चिन्तामुक्त भएका छन् । बालकदेखि वृद्धवृद्धासम्म खेल हेर्न उपस्थित भएपछि खेलमा थप रौनकता र उत्साह थपिएको छ । खचाखच दर्शकको माझ खेल्न साह्रै आनन्द र उत्साह थपिने चितवनका कप्तान पारस खड्काले बताए । दर्शकदिर्घामाझ मंगलबारको फाइनल खेल रोमाञ्चक हुने भेष्वाकर बताउँछन् । पोखरा प्रिमियर लिगको पुरस्कार राशि रु दश लाख रहेको छ ।