गच्छदार कांग्रेस उपसभापतिमा ‘इन’ अरु सबै ‘आउट’

Diyo post  

काठमाडौं, २० कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी नथप्ने तर, विजयकुमार गच्छदारलाई मात्र उपभसापति बनाउने तयारी गरेका छन् । धेरै पदाधिकारी थप गर्दा पौडेल पक्षका नेताहरुको व्यवस्थापनमा फाइदा पुग्ने बुझेपछि सभापति देउवाले आफ्नो वर्चस्व रहेको विधान संसोधन मस्यौदा समितिको बैठकबाट पदाधिकारी नथप्ने विषयलाई नै अघि बढाउने भएका हुन् ।

तर, गच्छदार दोस्रो उपसभापति बन्दै
तर, झण्डै एक वर्ष अगाडि आफ्नो पुरानो घर कांग्रेसमैं फर्किएका नेता विजयकुमार गच्छदारलाई देउवाले मंगलबार नै उपसभापति बनाउने तयारी गरेका छन् । यसका लागि उनले केही दिनदेखि नै नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइराला, महेश आचार्यसहितका नेतासँग संवाद गरिरहेका छन् । विधानको मस्यौदा भइरहेका बेला गच्छदारलाई उपसभापति बनाउन नहुने अडान केही नेताको भए पनि देउवाले गच्छदारलाई पार्टीमा एडजस्ट गर्न ढिलाइ भइरहेको भन्ने विषयमा टेकेर विधानमा भएको एउटा मात्र उपसभापति हुने भन्ने विषयलाई संसोधन गरेर उनलाई उपसभापति बनाउने तयारी गरेका हुन् ।

गच्छदारलाई मात्र समेट्ने तयारी
सभापति देउवा यस अघि पदाधिकारी बढाउने नै तयारीमा थिए । तर, पौडेल र सिटौला पक्षले मनोनित नभई निर्वाचित पदाधिकारी मात्र बढाउनका लागि दबाब दिएपछि देउवा गच्छदारलाई मात्र उपसभापति बनाउने तर, पदाधिकारी थप नगर्ने मनस्थितिमा पुगेको नेपाली कांग्रेस स्रोत बताउँछ । पदाधिकारी थप गर्दा पौडेल पक्षका नेतालाई नै फाइदा पुग्ने र १४ औं महाधिवेशनबाट उनीहरु नै हावी हुन सक्ने आफ्नो पक्षका केही नेताको रिपोर्टिङपछि देउवाले मनस्थिति परिवर्तन गर्दै विधानको मस्यौदामा पहिले भएकै पदाधिकारीलाई नचलाउने गरी दबाब दिएको बुझिएको छ ।
गच्छदारलाई कांग्रेसको दोस्रो उपसभापति बनाउनका लागि देउवाले आजैको बैठकमा बाधा अड्काउ फुकाउको प्रयोग गर्ने तयारी गरेका छन् । यसका लागि लागि बिहानैदेखि बुढानिलकण्ठस्थित निवासमा देउवाले आफू निकटका नेतासँग छलफल गरेका थिए । दिउसो पदाधिकारी बैठका पनि छलफल गरेपछि केन्द्रीय समितिको बैठकमा गच्छदारलाई उपसभापति बनाउने र आगामी महासमिति बैठकबाट अनुमोदन गराउने तयारी देउवाको छ । पदाधिकारीका लागि देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्षमा पनि दर्जनौं नेता आकांक्षी हुँदै गर्दा देउवाले गच्छदारलाई मात्रै समेट्ने तयारी गरेका हुन् ।

सम्बन्धित खबर