केशव स्थापितको आरोप– ‘मुख्यमन्त्री डोरमणी पौडेलको सिआइएसंग साँठगाँठ छ’

दियो पोस्ट  

काठमाडौं, कात्तिक २० । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भैसेपाटीमा रहेको पौडेलको सयन कक्ष देखि लिएर प्रदेश ३ को अवधारणपत्र बनाउनसम्म द एशिया फाउण्डेसनबाट आर्थिक सहयोग लिएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्ट्स नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृत नलिइकन वैदेशिक सहयोग लिएको आरोप लगाउँदै सांसद खुल्ने बित्तिकै उक्त विषयलाई जोडदार रुपमा राख्नेसमेत बताएका छन् ।
सफलता र असफलताका बारेमा असान्दर्भिक कुराहरु उठाएको भन्दै स्थापितले पौडेल पनि हेटौँडाको मेयर हुँदा के गरे भनि प्रतिप्रश्न गरे । मन्त्रीपरिषदमा अश्लिल शब्द बोलेको, मुख्यमन्त्रीको निर्देशन नमानेको इत्यादी आफुप्रति लागेका सबै आरोपको खण्डन गर्दै स्थापितले आफुले मुख्यमन्त्री पौडेललाई सधैँ इमानका साथ बोकेको स्पष्ट पारे ।

उनले भने ‘म पनि मुख्यमन्त्री, सभामुखको दाबेदार थिएँ, उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’

उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले पौडेलले सिआईएसंग पैसामात्र नलिएर सबै सुचनासमेत उपलब्ध गराउने आरोप लगाएका छन् ।

उनले आफूले जीवनमा कहिल्यैपनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले आफूसंग बोल्दा सधैँ टेबुल ठटाएर बोल्ने भएकाले आफूले पनि उनीसंग बोल्दा टेबुल मात्र ठटाएको स्वीकार गरे । आफूलाई मुख्यमन्त्री पौडेलले आर्थिक अनियमितताको आरोप लगाएको र ति आरोपहरुलाई प्रमाणित गर्नसमेत चुनौती दिएका छन् ।

आफूले सम्हालेको मन्त्रालयको काम रफ्तारमा गरेको पनि उनले विश्वास दिलाए । उनले भने,‘यो आर्थिक वर्ष क्रियाशिल भएको चार महिना भयो । तर, मैले २७ अर्बको पाईपलाईनभित्र हालें । मैले पाएको १३ अर्ब हो । दुई अर्ब चाही विश्व बैंक र एडिबी बैंकले गर्छ । बाँकी ११ अर्बको हो, त्यो त मेरो काम सक्कियो । राजनीतिमा क्रियाशिलता देखेपछि त्यसलाई बिचमा रोक्नुपर्छ भन्ने हुँदो रैछ क्या ।’
मुख्यमन्त्रीले आफूलाई राखेर तपाईको पर्फर्मेन्स जिरो छ भनेको सुनाउँदै उनले भने,‘उहाँले तपाईको पर्फर्मेन्स जिरो छ भन्नुभयो, तर मैले उहाँलाई मेरो त कामै सक्कियो भनिदिएँ । म कृषिमन्त्री भएको भए च्याङ्ग्रा किनेर ल्याउँथे र बाडिदिन्थे । यो पुल, सडकहरुको काम भनेको त टाईम टु टाईम हुन्छ । त्यसको चाहीँ खरिद ऐन आकर्षित हुन्छ।’

स्थापितले पुर्वाधार विकासका कार्यहरुपनि तिब्र रुपले बढाईएको उनले बताए । बाटोघाटो, पुल तथा यातायातलाई सुधार गर्नको लागि फाइलहरु अगाडी बढाइएको तर कर्मचारीका कारण कार्यन्वयनमा नआएको बताउदै आफुप्रति लागेको आरोप खण्डन गरेका छन् । त्यस्तै गरिबको लागि २० करोडको आवस बनाउने कार्यविधि पनि अगाडी बढाइएको उनले बताए ।

आफूले मुख्यमन्त्री पौडेलविरुद्ध अब प्रतिवाद सुरु गरेको पनि स्थापितले सुनाए । उनले तिहारलगत्तै मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद शुरु गर्ने चेतावनी दिएका छन् । उनले रश्मिला प्रजापतिले लगाएको आरोपविरुद्ध पनि अगाडी बढ्ने बताए । तिहार लगत्तै उनिविरुद्ध मानहानिको मुद्धा हाल्ने तयारी रहेको पनि उनले बताए ।