हस्तकला मेला बुधबारदेखि काठमाडौंमा सुरु हुने

दियो पोस्ट  

 

काठमाडौँ, कात्तिक २६ । आगामी बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु हुने भएको छ ।

नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । देश भित्रै रोजगारीको अवसर सृजना गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यका साथ सदाझैं यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिनु भयो । ५ दिनसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहनेछन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल रहने पनि मेला आयोजक समितिले जनाएको छ ।

मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ । मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिनेछन । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ । नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।