काठमाडौं, २८ कात्तिक | तीनवटै तहको निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पुरानो नेतृत्वविरुद्ध एकखाले घेराबन्दी गरेका युवा नेताहरु फेरि जुर्मुराएका छन् । निर्वाचन परिणाम कमजोर बन्दै कम्युनिष्ट दलहरुभन्दा धेरै पछाडि पर्नुपरेपछि कांग्रेसमा यस अघि सबै गुटमा रहेका युवा नेताहरु एक ठाउँमा आएर पार्टीको समग्र सुधारको कार्ययोजना ल्याएका युवा नेताहरु फेरि सक्रिय भएका हुन् ।
निर्वाचन समीक्षा बैठकमा लिखित प्रस्ताव नै पेश गरेका युवा नेताहरुले बुधबार काठमाडौंमा भेला गर्दै अबको महासमिति बैठक र १४ औं महाधिवेशसम्मै युवाहरुको विचार र पार्टी सुदुढीकरणका साझा प्रस्ताव लाने गरी अभियान थालेका हुन् ।
बुधबार काठमाडौं पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा भएको जमघटमा युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियार सहभागी थिए । यसमा प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, रामकृष्ण यादव अझै मिसिन बाँकी छन् ।
छलफलमा सहभागी भएका युवा नेता गुरु घिमिरेले पहिले जस्तै युवा नेताहरु अब पार्टीको भविष्य लिएर चिन्तित भएकोले भन्दै महासमितिमा समान धारणा लिएर एउटा माहोल सिर्जन ागर्न केन्द्रित रहेको जानकारी दिए ।
‘हामीले पहिले आठ जना नेताले पेश गरेको दस्तावेजका विषयमा छलफल गर्न बुधबारको बैठक बोलाएको थियौं’ गुरुको भनाई छ, ‘अब महासमिति बैठकमा यसलाई परिमार्जनसहित पेश गर्ने तयारीका लागि हामीले बुधबार प्रारम्भिक छलफल गरेका छौं । यस्ता छलफल अब नियमित हुन्छ ।’ १० युवा सम्मिलित यो टोलीमा अझै नेताहरु थपिंदै पार्टी सुधारको प्रभावकारी कार्ययोजना ल्याउने तयारी भएको उनी बताउँछन् । यस अघि केन्द्रीय समितिको बैठकमा यी युवा नेताहरुले ५० पृष्ठको प्रस्ताव पेश गर्दै कांग्रेस हार्नुमा पार्टीका कमजोर क्रियाशीलता, अवैधानिक कदम, निष्क्रियता जस्ता पक्षलाई केलाइएको थियो । साथै, अब पार्टीलाई सुधार गर्नका लागि सदस्ययता देखि काम गर्ने, सोच, शैली र चिन्तन परिवर्तन आवश्यक रहेको उनीहरुको प्रस्ताव थियो । यो प्रस्तावलाई अझै प्रभावकारी बनाउनका लागि शुक्रबार पनि थप छलफल गर्ने घिमिरेको भनाई छ ।
साथै, युवा नेतारुले महासमितिमा प्रस्तुत हुने विधानदेखि राजनीतिक, सांगठनिक, अर्थसम्बन्धी प्रस्तावमा पनि गहन रुपमा प्रस्तुत हुने निर्णय गरेका छन् । पार्टी नेतृत्वले प्रस्तुत गर्ने यी प्रस्तावमाथि सकारात्मक र नकारात्मक पक्षलाई केलाएर आफूहरुको धारणा प्रष्ट रुपमा पेश गर्ने तयारी पनि यी नेताहरुको छ ।
कांग्रेसमा यी युवा नेताहरु यस अघि एउटै गुटमा थिएनन् । अलगअलग गुटको फेरो समाउन बाध्य यी नेताहरु पार्टी चासो र चिन्ताले एक ठाउँमा आउनुपरेको तर्क गर्छन् । साँच्चै इमान्दार भएर पार्टी, नेता कार्यकर्ताको चिन्ता गर्दै पार्टी सुधारको लागि प्रष्ट कार्ययोजना यी नेताहरुले ल्याउँदा ढल्किंदो उमेरका नेताहरु सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोइराला परिवारका नेताहरुमाथिसमेत चुनौती तेर्सिने भने प्रष्ट छ । ढल्किंदो उमेरका नेतालाई चुनौती दिन यी युवा नेताहरु फेरि गुटको फेरो समातेर कतै ढल्किन भने हुने छैन ।