काठमाडौँ, कात्तिक ३० । कञ्चनपुर भिमदत्तनगरका १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्याप्रकरण थप रहस्यमय बन्दै गएको छ । घटनामा सम्मिलित भएको आशंकामा ४ जना स्थानियको डिएनए परिक्षण गरिएको छ । शुक्रबार सरकारी वकिलहरुको रोहबरमा खोलिएको उक्त डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसंग मेल नखाएपछि अनुसन्धान झन जटिल बनेको छ ।
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले शंकास्पद चार जनाको डिएनए परिक्षणको निम्ति राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको भेजाईनल स्वाबसंग मेल नखाएको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरिक्षक कृष्णराज ओझाले बताएका छन् । प्रहरीले उक्त नाम भने खुलाएकाे छैन ।
गत साउन १० गते हराएकी निर्मलाको शव ११ गते अर्धनग्न अवस्थामा भेटिएको थियो । तात्कालिन प्रहरी अधिकारीहरुले हिलोमा लतपतिएको निर्मलाको सुरुवाल पानीमा पखालेका थिए भने रक्तश्राव भइरहेको उनको योनी पनि पानी हालेर पखालिदिएका थिए । प्रहरीले शुरुवाती अनुसन्धानदेखी नै प्रमाण नष्ट गर्दै आएको भन्दै छानविन समितीले कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट संगै उनको छोरा लगायत अनुसन्धानमा खटिने प्रहरीहरुको पनि डिएनए परिक्षण गरिएतापनि नेगेटिभ आएपछि अनुसन्धानमा थप जटिलता थपिँदै गएको हो ।
निर्मला पन्तका पिता यज्ञराज पन्तले भने तात्कालिन प्रहरी प्रमुख विष्ट र उनका छोराको डिएनए परिक्षण पनि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गराउनपर्ने बताउँदै आएका छन् । उनले सरकार नै अपराधीलाई जोगाउने खेलमा लागेको भन्दै शंकास्पद सबैको डिएनए परिक्षण विदेशमा लगेर गर्नुपर्ने मागसमेत राखेका छन् ।