आजदेखि चालकलाई सुन्तला रङ्गको र सहचालकलाई हरियो रङ्गको ज्याकेट

दियो पोस्ट  

काठमाडौँ, मंसिर १ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले आजदेखि अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरूको संयुक्त बैठकले आज शनिबारदेखि अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोही अनुसार हाल उपत्यकाका झण्डै ९० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् ।

TATA ADD

सिफारिस