बलात्कारपछि हत्याः न्याय पाउने हरायो आश

दियो पोस्ट  

कपिलवस्तु,मंसिर २ । सबैतिर दसैँको रौनक छाएको थियो । नजीकै थारू सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका– ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी कहिल्यै नआउने गरी बिदा लिइन् ।

‘मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो’, आमा फहियाले आँखाभरि आँसु झाँर्दै भनिन्,‘छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।’ ०६८ असोज १४ गते घरको नजीकै थारू समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो ।

‘म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन’, फहियाले भनिन्,‘छोरीको हत्या भएको ७ वर्ष बित्दा पनि हत्यारालाई कारबाही हुन सकेन । हामीजस्ता गरिबहरूको कसले न्याय गर्छ’, उनले दुःखको पीडा सुनाउँदै भनिन् । उनी आफ्ना कुरा भन्दै जाँदा बीचैमा टोलाउछिन् ।

शिवरानीका हजुरबुवा कुल्चा थारूले हत्यारा पत्ता लगाउन पटक–पटक प्रहरीलाई दबाब दिए पनि हालसम्म न्याय पाउन नसकेको गुनासो गरे । ‘छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारबाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो’, शिवरानीका बुवा कुलुचाले भने ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सूक्ष्म र गहन ढंगले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिए । अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताए ।

जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारूकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताछन् ।