सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले सोचेजस्तो काम गरेनः नेता रावल

सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले सोचेजस्तो काम गरेनः नेता रावल

काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले बृहत् शान्ति प्रक्रिया पूरा भएको १२ वर्षसम्म पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले काम गर्न नसकेको उल्लेख गरे । “हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन, संविधान निर्माण, तीन तहको निर्वाचन सम्पन्न गर्नु उपलब्धिमूलक कुरा हो, अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि लैजानुपर्छ,” उनले भने। आयोगले दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने कामलाई अहिलेसम्म पुरा गर्न नसकेको नेता रावलले बताए ।

पुर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले आयोगलाई काम गर्नसक्ने वातावरणको निर्माण गर्न सहयोग गर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री आफैले सोचेअनुसारको काम नभएको भनिरहँदा काम गर्ने वातावरण निर्माण गर्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए । आयोगले काम गर्न नसक्नुको कारण पत्ता लगाई त्यसको उचित समाधान निकालेर विना दवावमा कामगर्न सक्ने वातावरणको सिर्जना हुनसके मात्र केही परिणाम आउने बताए ।
सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले पनि उचित वातावरण अभावकै कारणले छानविनको उचित परिणाम दिन नसकेको बताएको छ । उचित वातावरण भए छिट्टै परिणाम दिन सक्ने दावि गर्दै आयोगले दवावमा रहेर काम गर्न नसक्ने बताएको थियो ।

Trending News