नेकपा सचिवालय बैठक बस्दै !

दियो पोस्ट  

काठमाडौं,मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।
पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकता पनि अन्योलमा छ ।

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । बिहीबार बस्ने नेकपा बैठकमा यीलगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ । नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता मात्रै होइनन्, स्वयं प्रधामन्त्री पनि असन्तुष्ट छन् । उनले बुधबार मात्रै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए । बिहीबारको बैठकमा सरकारलाई गतिदिनेबारे पनि छलफल हुने एक नेताले बताए ।