काठमाडौं ६ मंसिर । नेपाली कांग्रेसले जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एउटा राज्यका मुख्यमन्त्रीबाट गर्न लागेको प्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
नेपाल र भारत दुवै देशका प्रतिनिधिबाट हुनुपर्नेमा भारतका प्रतिनिधिबाट मात्रै उद्घाटन गर्न लाग्नुले गम्भीर खतरा उत्पन्न गराएको कांग्रेसले जनाएको छ ।
रेलसेवाको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन गर्ने निश्चित भएको छ । मित्रराष्ट्रको लगानी र सहयोगलाई कांग्रेसले सधैँ स्वागत र कदर गर्ने गरेको भए पनि कुनै पनि परियोजनको उद्घाटन दुबै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न नमिल्ने उसले ठहर गरेको छ ।
नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै सार्वजनिक रुपमा जवाफ मागेको छ ।
यस्तै मंसिर ९ गते केन्द्रीय समितिको बैठक बस्न लागेको र बैठकमा विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा पेश हुने प्रवक्ता शर्माले जानकारी दिए ।