भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा लागिरहेका उनकी पिता यज्ञराज र माता दुर्गादेवि पन्त अन्ततः न्यायका लागि धर्नामा बसेका छन् ।
यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ ।
विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्थल पुग्ने सांसद तथा नेतामध्ये प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बढी छन् ।
धर्ना बसेको तेस्रो दिन नै प्रतिनिधिसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले धर्नास्थलमै पुगेर हत्यारा सार्वजनिक गर्न माग गर्दै उक्त दबाबमूलक धर्नामा ऐक्बद्धता जनाए । केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह धर्नास्थल पुगेका थिए । सङ्घीय र प्रदेश सरकार घटनाप्रति गम्भीर रहेको बताउँदै नयाँ दिशाबाट अनुसन्धान भइरहेको जानकारी दिए ।
हत्यारा सार्वजनिक गर्न माग गर्दै शुरुआतदेखि नै आन्दोलन गर्दै आएको दबाब समूह र महिला अधिकारकर्मीको साथ रहेको धर्नामा स्थानीयवासीदेखि नागरिक अगुवा पनि पुगेर सर्मथन जनाउँदै आएका छन् ।
धर्नामा सर्मथन जनाउन बुधबार भीमदत्तनगर पुगेका सांसद एवं नेपाली काङ्ग्रेसका युवानेता गगन थापाले निर्मलाको हत्यारालाई कारवाहीका निम्ति स्थानीयस्तरमा बढेको दुःखेसो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पु¥याउने बताएका थिए । धर्नास्थल पुगेर नेता थापाले निर्मलाका बुबाआमाप्रति सहानुभूति व्यक्त गर्दै न्याय नपाउँदासम्म दबाब जारी रहने र आफूहरुको साथ रहने आश्वासन समेत दिएका थिए ।
त्यसैगरी धर्नालाई बिहीबारदेखि नेकपा ९क्रान्तिकारी माओवादी० ले समेत समर्थन जनाउँदै महिला तथा बालबालिकामाथि घटिरहेका घटनाप्रति सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ भने नयाँ शक्ति पार्टीले पनि धर्नामा ऐक्बद्धता जनाएको छ ।
धर्नामा बस्दासमेत प्रशासन सक्रिय रुपमा अनुसन्धानमा नलागेको र र आफुहरुलाई अनुसन्धान कहाँ पुग्यो भन्ने बारेमा जानकारी नदिएको बताएका छन् । निर्मलाको बाबुआमाको स्वास्थ्य भने दिनप्रतिदिन बिग्रँदै गएको नयाँ शक्तिका नेतृ माया नेगीले बताएकी छिन् । गत कात्तिक २५ गतेदेखी धर्नामा रहेका निर्मलाका आमाबुवालाई भेट्न विहीबार नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौला भेट्न पुगेकी थिईन ।
नेपाली कांग्रेस लगायतका नेताहरुले निर्मलाका परिवारलाई भेट्दै न्याय अवश्य पाउने आश्वासन दिदै आईरहेका छन् तर न्याय दिने निकायले भने निर्मलाका परिवारलाई न्याय दिने लक्षण देखाएको छैन । बलात्कारपछिको हत्या जस्तो विषयमा पनि राज्य गम्भिर नहुनुले सरकारको कार्यशैली र जनताप्रतिको उत्तरदायित्वमा नै प्रश्न चिन्ह खडा हुन्छ ।
पटक पटक नेपाल प्रहरीका उच्च वरियताका अधिकारीहरुको नेतृत्वमा छानविन समिती बनाई अनुसन्धानमा खटाइएको भएपनि परिणाम कसैले दिन सकेन । प्रहरीको निकाय अहिलेसम्म अनुसन्धानकै क्रममा रहेको बताउँदै आइरहेको छ तर अनुसन्धान कहाँ पुग्यो र कस्तो संकेत मिल्यो भन्ने कुराको जानकारी भने दिन सकेको छैन ।
घटनालाई छुट्टै शीराबाट अनुसन्धान गर्ने भनिएतापनि घुम्दै फिर्दै रुम्जाटार भनिएजस्तो सबैले एकै निर्णय निकाल्छन् तर अपराधिको छेउसम्म पनि पुग्न सक्दैनन् । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक कुबेर कडायतले अनुसन्धान चलिरहेको बताएका छन् । घटनालाई सबै ढंग र उपाय लगाएर अनुसन्धान गरिएको र निकै सुक्ष्म रुपले अध्ययन गरिरहेको बताएका छन् ।