काठमाडौं, मंसिर ९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज आइतबारदेखि सुरु भएको छ । अभियान स्वरुप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगले पत्रकार सम्मेलन गरी अभियानको विषयमा शनिबार जानकारी दिएको छ ।
‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराको साथ नेपालमा यो अभियान मनाईदै छ । यसको अन्तराष्ट्रिय नारा भने “Orange the World: #HearMeToo” रहेको छ ।
पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री थम माया थापाले लैङ्गिक हिंसा विरुद्ध सचेतना प्रदान गर्न र लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलता कायम गर्न अभियानको उपादेयता रहेको बताईन ।
अभियानलाई १६ दिनमात्र मनाउने नभई बर्षैभरिको अभियान बनाईने र ठोस कार्यक्रम र कार्यनीतिको साथ परिणाममुखी परिवर्तन ल्याउनको लागि मन्त्रालय अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा मन्त्रालय र आयोगका १६ दिवसीय कार्यक्रमको अलावा साथी, ओरेक, वियोन्ड बेईजिङ्ग कमिटी, एटविन, जागरण नेपाल, सिभिक्ट, साप नेपाल, शक्ति समूह, महिला अधिकार राष्ट्रिय मञ्च , विश्वास नेपाल लगायतका गैरसरकारी संस्थाहरुले अभियान अवधिभर संचालन गर्ने कार्यक्रमहरुको’ दयगतमा पनि जानकारी प्रदान गरियो ।
सम्मेलनमा राष्ट्रिय महिला आयोगका सचिव श्री अनिल कुमार ठाकुरले लैङ्गिक हिंसाको रिपोर्टिङ्ग बढेको बताउदै सो सवाललाई सम्वोधनमा तदारुपता देखाउनुपर्ने र यसको लागि आयोगले कामहरु गरिरहेको वताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री बुद्धि बहादुर खड्काले स्थानीय तहसम्मै महिला हिंसा विरुद्धका कार्यक्रमहरु लगिने बताए ।
२५ नोभेम्वर देखि १० डिसेम्वर, २०१८ सम्म यो अभियान मनाईदै छ । नेपालमा यो अभियानको सुरुवात २०५४ सालदेखि भएको हो ।