काठमाडौँ, मंसिर ९ । बागलुङको ढोरपाटन नगरपालिका– ९ नवि वस्तिमा भीषण आगलागी भएको छ । राति करिब दुई बजेबाट शुरु भएको आगलागीबाट करिब ३० घर जलेर नष्ट भएको छ ।
ढोरपाटन शीकार आरक्षणको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले आईतबार बिहान ८ बजेमात्र आगो नियन्त्रणमा लिन सफल भएका हुन् । ढोरपाटनका बासिन्दा कार्तिकदेखि चैतसम्म जाडो छल्न बोबाङ, अधिकारीचौर जस्ता गाउँमा झर्ने भएकाले घरमा कोही नभएको बेला आगो सल्किएको हो । बस्तिमै रहेको २३ घर भने बचाउन सफल भएको नेपाली सेनाले जनाएको छ ।
घरभित्र रहेका अन्नपात, लत्ताकपडा सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । एक घरबाट सल्किएको आगोले पुरै ३० घर जलेर नष्ट भएको नेपाली सेनाका मेजर रविजंग खड्काले बताए । उनका अनुसार आगो नियन्त्रण गर्न सेनाका १ सय २३ जना टोली खटाइएको थियो ।