सिन्धुपाल्चोकमा १० बर्षिया बालिका बलात्कृत, ३० हजारमा घटनालाई लुकाउने प्रयास

दियो पोस्ट  

सिन्धुपाल्चोक । देशमा महिला हिंसाको १६ दिने अभियान चलिरहदा सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा १० बर्षिय बालिका बलात्कारको शिकार भएकी छिन् ।

पाँचपोखरीस्थित बडा नम्बर ६ मा कक्षा तीनमा पढ्ने १० बर्षिय बालिकालाई उनकै काका पर्ने १६ बर्षिय विर्खबहादुर तामाङले बलात्कार गरेका हुन् । तामाङले सोमबार दिउँसो लस्सी खाने बहानामा एकान्त स्थानमा लगी वलात्कार गरेका हुन् । बालिका वलात्कृत हुँदै गर्दा उनका बाबुले देखेपछि घटना बाहिर आएको हो ।

स्थानियले तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि उनले आफुले बलात्कार गरेको समेत स्विकार गरेका छन् । घटना सार्वजनिक भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी नआइपुग्दै पीडित र पीडक पक्षबिच आर्थिक लेनदेन गराई घटनालाई गुपचुप बनाइएको थियो । पीडक पक्षले पीडितलाई ३० हजार रुपयाँ दिनेगरि घटनालाई लुकाइएको एक स्थानियले बताएका छन् ।

खाल्डेचौकी प्रहरी पोष्ट पाँचपोखरीका सहायक प्रहरी निरिक्षक सन्तोष झाका अनुसार बालिका बलात्कृत भएको खबर पाउनासाथ घटनास्थलमा प्रहरीको एक टोली पठाइएको थियो । सोमबार राति नै प्रहरी घटनास्थल पुगेको तर पीडक घरमा नभएकाले पक्राउ गर्न नसकिएको हो । पीडकको खोजीकार्य भईरहेको र चाँडै कारवाहीको दायरामा ल्याइने सहायक प्रहरी निरिक्षक झाले बताए ।

यता स्थानियहरुले भने घटनालाई गाउँमै मिलाइएको र प्रहरीको आवश्यकता नभएको भन्दै घटनास्थल पुगेका प्रहरीलाई फर्काइएको बताए । घटनास्थल पुगेका प्रहरी विना अनुसन्धान फर्कनु र घटनालाई आर्थिक लेनदेनबाट गुपचुप बनाउन प्रयास गर्नु महिला हिंसाको १६ दिने अभियानले कत्तिको प्रभावकारी भुमिका खेलिरहेको छ भन्ने कुरामा समेत प्रश्न चिन्ह खडा गरेको छ ।