धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यान्टारमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई नेदरल्यान्डको ह्यान्डेन भोर ट्यान्डेन ”Handen voor Tanden” र स्वास्थ्य शिक्षामा नागरिक पहुँच ‘PATHE’ले संयुक्त रूपमा एम्बुलेन्स एम्बुलेन्स प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रम आयोजना गरी प्रदेश सांसद जगत सिंखडा र स्वास्थ्य शिक्षामा नागरिक पहुँच ‘PATHE’का अध्यक्ष सितल चन्द्र धरेलले संयुक्त रुपमा उक्त एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमममा प्रदेश सांसद जगत सिंखडाले त्रिपुरा सुन्दरी गाउँपालिक लगायत स्थानिय निकायमा भइरहेको अनियमितताबारे आफू जानकार रहेको र कुनै दिन अनियमितता गर्ने विरुद्ध मुद्दा हाल्ने घोषणा गरे ।
उनले एम्बुलेन्स हस्तान्तरण गर्ने पाथ नेपाल र संस्थाका अध्यक्ष धरेललाई धन्यवाद समेत दिए ।
एम्बुलेन्स हस्तान्तरण भएपछि सो क्षेत्रका सर्वसाधारण लाभान्वित हुने बताइएको छ ।
त्यस्तैगरी हेल्प रुरल नेपाल युके (Help Rural Nepal Uk) र पाथ नेपालको संयुक्त पहलमा नेत्रावती गाउँपालिका १ मार्पाकमा पुस्तकालय निर्माण गरी खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको छ ।
दुवै संस्थाको सहयोगमा नेत्रावती गाउँपालिकाकै मंगलादेवी मावि र निमार्चोक निमावीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
सल्यान्टार स्थित रानीपौवा उमाविलाई चार थान कम्प्युटर समेत हस्तान्तरण गरिएको छ ।
पाथ नेपाल र हेल्प रुरल नेपाल युकेको संयुक्त पहलमा सल्यान्टार ६ स्थित कार्की गाउँ विद्यालयलाई ४ थान कम्प्युटर हस्तान्तरण गरेको पाथ नेपालका अध्यक्ष सितलचन्द्र धरेलले दियोपोस्टलाई जानकारी दिए ।
संस्थाले ग्रामिण भेगमा रहेका विद्यालयमा शैक्षिक सामग्री पुर्याएपछि स्थानियबासी खुसी भएका छन् ।