सुर्खेत, कात्तिक २४ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेतका युवाहरुले भारतविरुद्ध आन्दोलन गरेका छन् । नेपालको भुभाग मिचेर भारतले आफ्नो नक्साभित्र समावेश गरेपछि सिंगो देश आन्दोलित बनिरहेको बेलामा सुर्खेतका युवाहरुले पनि विरोध र्याली गरेका हुन् ।
जिल्लाको सम्पुर्ण राजनीतिक दलका विद्यार्थी संगठनहरु तथा भातृसंगठनहरुले संयुक्त रुपमा भारत विरुद्ध विरोध र्याली गरेका थिए । उनिहरुले भारतीय नक्साबाट नेपालको भुभागलाई तत्काल हटाउन माग गरेका छन् ।
विरोध र्यालीमा ‘दुध मागे खीर दिन्छौँ, गाली मागे चिरदिन्छौँ’, ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रा हुन्’,‘भारतीय हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाउँदै प्रदेश राजधानीमा प्रदर्शन गरेका हुन् ।
पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्नसमेत कर्णालीका युवाको माग छ । भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौदेखि गरिरहेको भन्दै यसविरुद्ध डटेर सामना गर्न तयार रहेको कर्णाली युवा शक्ति समूहमा आबद्ध युवाले बताए।