फाल्गुनन्दसँग गाँसिएका ठाउँलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ

दियो पोस्ट  

काठमाडौँ, कार्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको जनाउँदै प्रधानमन्त्रीले भने, “त्यसबेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उहाँले विसं १९८८ वैशाखमा जारी गर्नुभएको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ ।”

सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोक्नुभएका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि दिनुभएको शिक्षा आज पनि मननीय भएको जनाउँदै प्रधानमन्त्रीले छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बताए ।
फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिन कात्तिक २५ गते इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि प्रधानमन्त्रीले स्मरण गरे ।