लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक २५ । भारतले नेपाली भुभागलाई समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले सोही भुभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था समितिले भारतले आफ्नो नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।

सोमबार समितिले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । तर, प्रधानमन्त्री ओलीको सट्टा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल उपस्थित भएका थिए । छलफलमा मन्त्री अर्यालले पनि भारतले नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै आपत्ती जनाएकी थिईन् ।

छलफलपश्चात नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिँदै पाठ्यक्रमहरुमा पनि सच्याउन सरकारलाई निर्देशन दिइएको छ ।बैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिले आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ । साथै भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न पनि समितिले अपील गरेको छ ।

सम्बन्धित खबर