नगरकोटमा सडक निर्माण अलपत्र बनेपछि गाडीमा ठेकेदार शारदा अधिकारीको तस्विर !

दियो पोस्ट  

काठमाडौं, २६ कार्तिक । एक्जिम बैंक भारतको सहयोगमा भत्केको पाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको १६ किमि सडक निर्माण आयोजना अलपत्र छ । सडक निर्माण नभएपछि भक्तपुरको नगरकोट क्षेत्रको पर्यटन व्यावसाय समेत धराशयी बनेको छ । सडक निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले ६ वर्षमा पनि निर्माण गर्न नसकेपछि नगरकोट आउने सवारी चालकहरुले विरोधको नयाँ शैली अपनाएका छन् ।


उनीहरुले सवारी साधनमा शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष ठेकेदार शारदा प्रसाद अधिकारीको तस्विर टाँसेका छन् । तस्विर टाँसेर विरोधको शैली अपनाइएपछि प्रशंसा हुन थालेको छ ।
आयोजना र निर्माण कम्पनीबीच भएको दुईवर्षे सम्झौताको म्याद ३ असार ०७३ मै सकिएको हो ।

त्यसयता निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनले नाकाबन्दी, भूकम्पलगायत कारण देखाउँदै पटक–पटक म्याद थप गराएको छ । तीनपटकसम्म थप भएको म्याद गुज्रिँदासम्म पनि काम नसकिएपछि गत जेठमा निर्माण कम्पनीले पुनः म्याद थपको माग गरेको थियो । तर, उचित कारण देखाउन नसकेपछि म्याद थप भएको छैन । पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम सकिएको छ ।

आयोजनाले ऋण सहयोगका लागि कागजी प्रक्रिया मिलाउन ढिलो गरेपछि निर्माण कम्पनीले करिब नौ महिनापछि मात्रै काम थालेको थियो । आयोजनाले पहिलोपटक २० कात्तिक ०७३ सम्मका लागि एक सय २५ दिन म्याद थपेको थियो । भूकम्प र नाकाबन्दीले असहज भएको भन्दै निर्माण कम्पनीले म्याद दाबी गरेपछि दोस्रोपटक तीन सय ८० दिन र तेस्रोपटक दुई सय २१ दिन म्याद थप गरिएको थियो ।

पाँच वर्षमा आधा मात्र काम सकेको निर्माण कम्पनीले अहिलेसम्म करिब १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । कम्पनीले आठपटकमा १३ करोड ९० लाख रुपैयाँ भुक्तानी लिएको सडक योजना कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि लागतसमेत थपिएको छ । आयोजनाले सडक निर्माणका लागि ४६ करोडको लागत स्टिमेट तयार गरी ठेक्का आह्वान गरेको थियो । तर, निर्माण कम्पनीले २७ करोडमा काम गर्ने सम्झौता गरेको थियो । समयअनुसार मूल्यांकन गरी १३ प्रतिशत लागत वृद्धि गरिएको आयोजनाले जनाएको छ । अहिले कुल लागत ३० करोड पुगेको छ ।