मन्त्री फेर्ने तयारी स्वरुप प्रधानमन्त्रीको आह्वानमा आज सचिवालय बैठक बस्दै

मन्त्री फेर्ने तयारी स्वरुप प्रधानमन्त्रीको आह्वानमा आज सचिवालय बैठक बस्दै

काठमाडौं, कार्तिक २९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान नेकपा सचिवालयको बैठक समेत बोलाएका छन् । मन्त्री हेरफेरको तयारी गरेका प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सचिवालय बैठकको एजेन्डा सार्वजनिक गरी नसकिए पनि मन्त्रिपरिषद् हेरफेर नै प्रमुख एजेन्डा भएको नेकपाका एक नेताले जानकारी दिए ।

मन्त्रीहरुलाई हेरफेर गराउन सहजताका लागि ओलीले यसअघि नै आफ्ना विश्वासपात्रहरुले बनेको सल्लाहकार संरचनाका सदस्यहरुलाई राजीनामा लागि निर्देशन दिइसकेका छन् ।

यसबीचमा प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई पनि सरकारबाट बाहिरिन अनुरोध गरिसकेका छन् । यद्यपि, समाजवादीले यसबारेमा शुक्रबार र शनिबार काठमाडौंमा चल्ने केन्द्रीय समितिको बैठकबाट निर्णय लिनेछ ।

लामो समयदेखि मन्त्रिमण्डल परिवर्तनको चर्चा चल्दै आएपनि अन्ततः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उक्त चर्चालाई यथार्थमा परिणत गर्ने भएका छन् । मन्त्रिपरिषद् परिवर्तनका लागि प्रधानमन्त्री ओलीले आफ्नो गृहकार्यलाई तीव्रता दिएका छन् ।

मंगलबार नेकपा नेता माधवकुमार नेपालसँग लामो समयपछि घन्टौं छलफल गरेका ओलीले विहीबार पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग करिब डेढघण्टा छलफल गरेका थिए । ओलीले दुवै नेताहरुसँग लामो संवादपछि ८ जना मन्त्रीलाई बिदाई गर्ने तयारीलाई अन्तिमरुप दिएका छन् । नेताद्वय प्रचण्ड र नेपालसँग गरिएको गृहकार्यलाई पार्टीबाट निर्णय गराउन बैठक बोलाईएको हो ।

ओलीले ८ मन्त्रीलाई बिदाई गरेर नयाँ अनुहारलाई ल्याउने तयारीसँगै केही पुरानै मन्त्रीहरुको मन्त्रालय परिवर्तनको तयारी समेत गरेका छन् ।

Trending News