रौतहट बम काण्डः आलम पक्षका वकिलहरुको बहस सकियो, फैसला आजै हुने सम्भावना

रौतहट बम काण्डः आलम पक्षका वकिलहरुको बहस सकियो, फैसला आजै हुने सम्भावना

रौतहट, कात्तिक २९ । रौतहट वम काण्डमा प्रमुख अभियुक्त नेपाली काँग्रेसका निलम्वित सांसद आफ्ताव आलम पक्षका वकिलहरुले बहस सकाएका छन् । वरिष्ठ अधिवक्तासहित ३० जना भन्दा बढी वकिलहरुले आलमको पक्षमा बहस गरेका थिए । बहस सकिएपछि आलमको मुद्धाको फैसला आजै हुने सम्भावना रहेको छ ।

जिल्ला न्यायधीश दीपक ढकालको इजलासमा शुक्रबार एक जना वरिष्ठ अधिवक्तासहित पाँच जना वकिलहरुले बहस गरेका थिए । शुक्रबारको बहस टुंगिएपछि आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने फैसला आउने छ ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

मुद्धाको संवेदनशीलतालाई हेरेर न्यायधीश डकालले अन्य न्यायधीश र जिल्लाका सरकारी वकिलहरुसँग पनि छलफल गर्ने जनाइएको छ । अन्य न्यायधीश र सरकारी वकिलहरुसँग छलफल गरेको खण्डमा फैसला आइतबार मात्र हुने छ ।

बहस सकिएपछि फैसला आउनै लाग्दा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाइ कडा बनाएको छ । फैसला आएपछि हुनसक्ने संभावित घटना हुन नदिनका लागि प्रहरीले सुरक्षा संयन्त्रलाई कडा बनाएको छ ।

Trending News