काठमाडौं, कार्तिक ३० । मोहमद अफताव आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन् ।
आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागेका छन् । आदेशलगत्तै शुक्रबार साँझ नै उनीहरुले जिल्ला छाडेका हुन् ।
आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन ।
अदालतमा बहस चलिरहेका वेला गएको मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार भएको थियो ।
राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमले नै बम हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंकका कारण केही घटना हुने डरले उनीहरुले जिल्ला छाडेका हुन् ।
अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो ।