कालापानिबाट भारतीय सैनिक हटाउन प्रधानमन्त्री ओलीको आग्रह

दियो पोस्ट  

काठमाडौँ, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट तत्काल सेना फिर्ता लैजानका लागि भारतलाई आग्रह गरेका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृसंगठन युवा संघ नेपालको वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च भुभाग पनि अतिक्रमित हुन नदिने दावि गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिमाना मिचिएको प्रति प्रधानमन्त्री किन मौन बसिरहेको भन्ने अभिव्यक्ति आइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सिमानाको विषयमा सरकार स्पष्ठ रहेको र कालापानी लगायतका अतिक्रमित भुभागहरु फिर्ता ल्याउनका लागि सरकार सक्षम रहेको समेत बताए ।

उनले सिमाना अहिले आएर मिचिएको नभई यसअघिका शासकहरुको कमजोरीको कारण मिचिएको समेत बताए । विगतका शासकका कमजोरी हो भनेर सरकार देशको भूमि अतिक्रमण भइरहेको हेरेर बस्न नसक्ने समेत बताए । ‘हामीलाई अरुको एक इञ्च पनि चाहिँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामी पनि कसैलाइ एक इञ्च पनि दिँदैनौँ ।’

प्रधानमन्त्री ओलीले सिमा विवादलाई समाधान गर्नका लागि राष्ट्रिय एकता आवश्यक रहेको समेत स्पष्ठ पारेका छन् । सरकार राष्ट्र र राष्ट्रियताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको दावि थियो । नेपाल भारतको सिमानाको विषयमा अन्तराष्ट्रिय मञ्चहरुमा समेत वहस हुन शुरु भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भुभाग तत्काल फिर्ता हुनेमा विश्वस्त रहन आह्वान गरेका छन् ।