नेकपा नेता पाण्डे भन्छन्, ‘सिमा विवादबारे भारतसँग वार्ताको तयारी भइरहेको छ’

दियो पोस्ट  

काठमाडौँ, मंसिर १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन् । आइतबार रिपोटर्स नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद पाण्डेले नेपालको एक इञ्च भुभाग पनि सरकारले गुम्न नदिने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता पाण्डेले सिमा विवादको समस्यालाई कुटनीतिक तवरले समाधान गर्न सरकार तत्पर रहेको समेत बताएका छन् । उनले सुगौली सन्धीमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टँुगो लगाइसकेकोले जनताहरु आत्तिन पर्ने अवस्था नरहेको बताएका छन् । ‘सुगौली सन्धीमा स्पष्ठ नक्सा छ, कसैले मिच्दैमा मिचिदैँन’ उनले भने ।

नेता पाण्डेले नेपाल भारत सिमा समस्या आजको मात्र नभई पुरानै रहेको बताएका छन् । कालापानी लिपुलेक र लिम्पियाधुरा चासो र संवेदनशील विषय भएको कारण सरकार पनि संवेदनशील भएर अगाडी बढेको बताएका छन् ।

कालापानीबाट भारतीय सेनाहरुलाइ हटाउन पनि उनको माग रहेको छ । नेपालको भुभागबाट भारतीय सैनिकहरु हट्नुपर्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले नै दिईसकेको कारणले पनि सिमा विवाद चाँडै समाधान हुनेमा द्विविधा नरहेको बताएका छन् ।