बैतडी डोजर प्रकरणः छानबिन समितिले अझै बुझाउन सकेन प्रतिवेदन

दियोपोस्ट संवाददाता

काठमाडौं, मंसिर २ । बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गएको कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।

शुरुमा छानबिन समितिको प्रतिवेदन समय सीमा ४८ घण्टाको राखिएको थियो । उक्त समय सीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो ।

डोजर प्रकरणका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । सो प्रकरणमा दोषी देखिएकाले कानूनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको समितिले जनाएको छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–९ सुन्नाखानदेखि पार्ससम्म जोड्ने उक्त सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजर चालक बोहराले महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो ।

गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो । सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो ।

आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो ।

जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सम्बन्धित खबर