पुजा बोहरा बलात्कार प्रकरणमा सर्वोच्चको आदेशः अभियुक्तलाई १० लाख क्षतिपुर्ति सहित ११ बर्ष कैद सजाय

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर २ । सर्वोच्च अदालतले बैतडीकी पुजा बोहरामाथि बलात्कार गर्ने दुई अभियुक्तलाई दश लाख क्षतिपुर्ति सहित ११ बर्षको कैद सजाय हुने फैसला गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायधिश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले बलात्कारका अभियुक्त सागर भट्ट र अमर अवस्थीलाई क्षतिपुर्ति सहितको कैद सजाय हुने फैसला सुनाएको हो ।

सर्वोच्चले उच्च अदालत महेन्द्रनगरको फैसलालाई उल्टाउँदै यस्तो आदेश गरेको हो । क्षतिपुर्तीमध्य पाँच लाख भने सरकारले व्यहोर्ने र बाँकी रहेको पाँच लाखमा दुई जना अभियुक्तहरुबाट भराउने गरि सर्वोच्चले आदेश जारि गरेको हो । कैदको हकमा बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कार गरेकोमा पाँच वर्ष थपेर साढे ११ वर्ष पुर्‍याइएको हो।

२०६८ चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।

जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो।

सर्वोच्च अदालतले आज गरेको फैसलामा क्षतिपूर्ति निर्धारण प्रतिवेदन बनाउने अधिकृत तोक्न पनि सरकारलाई आदेश गरेको छ। पीडितलाई पिडकबाटै क्षतिपुर्ती भराउनुपर्ने हुँदा बलात्कार मुद्दाको अनुसन्धान गर्ने बेला देखि नै आरोपीको आर्थिक अवस्था र सम्पत्तिको विवरणहरू तयार पार्न परमादेश गरेको छ।