विश्वकपको एसिया छनोटः नेपाल कुवेतसँग १–० ले पराजित

विश्वकपको एसिया छनोटः नेपाल कुवेतसँग १–० ले पराजित

काठमाडौँ, मंसिर ३ । विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको दोस्रो खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवात देखि नै नेपाल माथि दबाव दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अभिशेख रिजाल डिबक्स भित्र चुक्न पुगे ।

खेलको २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् । खेल अवधीभर कुवेतले निकै राम्रा अवसरहरुलाई पनि गोलमा परिणत गर्न सकेन भने नेपाली खेलाडीहरुले पनि निकै राम्रा अवसरहरुलाई गुमाएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार आएको थियो ।

यसअघि कुवेतको घरेलु मैदानमा भने यही टीमसँग नेपाल ७–० गोलको विशाल अन्तरले पराजित भएको थियो । रंगशाला तयार नभएपछि नेपालमा हुनुपर्ने खेल भुटानमा भएको हो ।

समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालको पाँच खेलबाट जम्मा तीन अंक छ । त्यति नै खेल खेलेको कुवेत १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

Trending News