काठमाडौं मंसिर,४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।
बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।
नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए । नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।