बुढीगण्डकीको मुआब्जा वितरण रोकिएपछि धादिङका सांसद आन्दोलित, यस्ता छन् तीन दिने आन्दोलनका कार्यक्रमहरु

दियो पोस्ट  

धादिङ, मंसिर ५ । बुढीगण्डकी जलविद्युत आयोजनाको मुहाब्जा वितरणमा ढिलाई भएपछि धादिङका सांसदहरुले आन्दोलनको घोषणा गरेको छ । मुहाब्जा वितरणमा केन्द्रले बेवास्ता गरेको भन्दै धादिङबाट प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

बुधबार जनप्रतिनिधिसहित बसेको वैठकले तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । जनप्रतिनिधिसहित जिल्ला समन्वय समिति गोरखाका सदस्य राजु गुरुङ, जिल्ला समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठको संयोजकत्व र राजु गरुङको अध्यक्षतामा बसेको वसेको वैठकले आरुघाट विशालनगर, खहरे, आरखेत लगायतका बजार क्षेत्रको मुहाब्जा वितरणमा ढिलाई भएको भन्दै दबावस्वरुप आन्दोलनको घोषणा गरेको हो ।

वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सदस्य सुरेन्द्र पाण्डे, गोरखाका सांसद हरिराज अधिकारी, प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी, संविधान सभा सदस्य चिनकाजी श्रेष्ठ, धादिङ क्षेत्र नं २(ख) का प्रदेश सांसद जगत सिंखडा लगायत अन्य स्थानीय जनप्रतिनिधिहरु उपस्थित भएका थिए ।

वैठकले आन्दोलनलाई चरणवद्ध ढंगले अगाडी बढाउने निर्णय गरेको छ । पहिलो चरणको तीन दिने आन्दोलन मंसिर ५, ६ र ९ गतेको लागि तय भएको छ । आन्दोलनमा सांसदहरुकै नेतृत्वमा सांकेतिक दबाव दिने कार्यक्रम रहेको छ । केन्द्र सरकारलाई धादिङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीले दबाव दिने निर्णय भएको छ ।

पहिलो चरणको आन्दोलन पछि पनि सरकारले बेवास्ता गरेको खण्डमा मंसिर ११ गते पुनः वैठक बसी थप आन्दोलनबारे छलफल गरिने धादिङका प्रदेश सांसद जगत सिंखडाले दियोपोस्टलाई जानकारी दिएका छन् ।