पर्वतारोहण र संचारकर्मी सम्वन्धी दुई दिने सहजीकरण कार्यक्रम सम्पन्न

पर्वतारोहण र संचारकर्मी सम्वन्धी दुई दिने सहजीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ, मंसिर ५ । नेपाल पर्वतारोहण संघ (एनएमए) र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले पर्वतारोहण र संचारकर्मी सम्वन्धी दुई दिने सहजीकरण कार्यक्रम सम्पन्न गरको छ । पासाङ ल्हामु प्रतिष्ठानको भवनमा मंसिर ४ र ५ गते भएको कार्यक्रममा पत्रकारहरुलाई हिमालको अवस्था, पर्वतारोहणको अवस्था, यसका चुनौती र समस्याको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा पर्वतारोहणको प्रकृया र पर्वतारोहणको समयमा प्रयोग हुने सामाग्रीहरुको बारेमा जानकारी दिइएको थियो । बुधबारको कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सिताराम सापकोटाले पर्यटन प्रवद्र्धनमा संचारमाध्यमको भुमिकाको बारेमा बताएका थिए । उनले संचारमाध्यमहरुले नेपालको पर्यटन क्षेत्रमा हिमालले खेल्ने भुमिकाको विषयमा प्रचारप्रसार गर्न नसकेको समेत गुनासो पोखेका थिए । संचारमाध्यमहरुमा हिमाल र पर्वतको विषयमा निकै कम ठाउँ पाउने भएको कारणले पनि अन्तराष्ट्रिय स्तरमा सोचेअनुसारको प्रचार हुन नसकेको बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले नेपालमा तीन हजारभन्दा बढी हिमाल भए पनि व्यापक प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको बताए ।

त्यस्तै नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले हिमालमा आफुले बिताएका समय र आफ्नो संघर्षका केही अंशहरु बाँडेकी थिईन् । उनले नेपालमा छिट्टै पर्वतारोहण विषयमा स्नातकोत्तर सम्मको शिक्षा प्रणालीको विकास हुने समेत जानकारी दिएकी थिईन् । उनले पर्वतारोहण विषयलाई पाठ्यक्रममै विकास गरेर स्नातकसम्मको अध्ययन गर्न सकिने व्यवस्था नेपालमै भएको जानकारी दिइन् ।

शेर्पाले नेपाली संचारमाध्यमहरुले पर्यटन क्षेत्रसँग सम्वन्धित सकारात्मक भन्दा नकारात्मक समाचारहरुलाई बढी प्राथमिकताका साथ प्रकाशन गरेको बताएकी छिन् । उनले सकारात्मक पक्षहरुको विषयमा लेखेर नेपालमा रहेको हिमाल र पर्वतका बारेमा विश्वसामु चिनाउन समेत संचारकर्मीहरुलाई अनुरोध गरेकी छिन् ।

त्यस्तै कार्यक्रममा पर्वतारोहण प्रशिक्षक गाईड लामाबाबु शेर्पाले पर्वतारोहण सम्वन्धी प्रशिक्षण दिएका थिए । उनले हिमाल आरोहणको समयमा गर्नुपर्ने पुर्वतयारीका बारेमा जानकारी दिएका थिए । हिमालमा प्रयोग हुने विभिन्न प्रकारका उपकरण र त्यसलाइ प्रयोग गर्ने तरिका, हिमालमा लगाउने कपडाहरु लगायत विभिन्न विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा पर्यटक प्रहरी प्रमुख अमृत बस्नेतले नेपालमा भित्रने पर्यटक र उनिहरुको सुरक्षाको बारेमा जानकारी दिएका थिए । उनले पछिल्लो समयमा सरकारले पर्यटक प्रहरीमा ५१ जना थप गरेको र यसले पर्यटक प्रहरीकोे कार्यक्षमता थप वृद्धी भएको बताए । त्यस्तै भिजिट नेपाल २०२० सम्पन्न गर्नका लागि पर्यटक प्रहरीले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिएका छन् ।

विहीबारको कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई वाल क्लाइम्बिङ अभ्यास समेत गराइएको थियो ।
कार्यक्रममा नेपाल माउन्टेन एकेडेमीकी अध्यक्ष लाक्पाफुटी शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, प्रमुख प्रशासकीय अधिकृत जिनेस सिन्धुराकार, नेपाल पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष फुर्वानाम्ग्यल शेर्पा, पर्यटक प्रहरी प्रमुख अमृत बस्नेत, प्रशिक्षक गाइड लामाबाबु शेर्पालगायत उपस्थित थिए ।

Trending News