काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा कर्नाटका टुसकेर्स पराजित भएको छ ।
आबु धाबीमा बिहिबार राति भएको खेलमा कर्नाटका क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो । यो टीममा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध छन् ।
शेख जायद स्टेडियममा क्वालान्दर्सले दिएको १ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
कर्नाटकाका लागि रायन टेन डेस्काटेले २५ रन, जोनसन चार्ल्सले २४ रन, रोस ह्वाइटलीले १५ तथा सफिकउल्लाहले १२ रन बनाए । सन्दीप ५ रनमा आउट भए ।
क्वालान्दर्सका जर्ज गार्टन र सुल्तान अहमेदले २-२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ क्वालान्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
क्वालान्दर्सका टम बान्टोनले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै लाउरी इभान्सले १७ रन जोड्दा सुल्तान अहमेद र फिल साल्टले ११\११ रन जोडे ।
कर्नाटकाका सन्दीप लामिछाने र अहमेद राजाले समान २ २ विकेट लिए । सन्दीपले ३० रन खर्चिएर २ विकेट लिएका हुन् ।
यो हारसँगै कर्नाटका सुपर लिगको पुछारमा रहेको छ । कर्नाटकाले ५ खेलमा ३ अंक जोडेको छ ।