सीमा अतिक्रमणको बिरुद्धमा भारतीय दुतावास अगाडी कलाकारको प्रदर्शन

दियो पोस्ट  

काठमाडौँ । भारतले जारी गरेको नक्सामा नेपालको भु-भागलाई समेत समावेश गरेको बिरोधमा आज नेपाली कलाकारहरुले बिरोध प्रदर्शन गर्दै भारतीय दुताबासमा ज्ञापन पत्र बुझाएका छन् । कलाकारहरुले सडकमा सिमा अतिक्रमण र नेपाली स्वाधीनताका पक्षका गीत गाएर बिरोध गरेका थिए ।

नेपाल सरकार र भारत सरकारलाई बिवादित सिमाका बिषयमा छलफल सुरु गर्नका लागि दवाब दिदै आए पनि सरकारले त्यस बिषयमा चासो नदेखाएको कलाकार तथा नायक नवल खड्काले जानकारी दिए । उनले भने, “हामी कसैको एक चिम्टी माटोको लोभ गर्दैनौँ, तर हाम्रो पनि एक चिम्टी माटो अरुलाई दिँदैनौ ।” उनले आफ्नो देशको माटो बचाउनका लागि मर्नै परे पनि आफुहरु मर्न तयार रहेको बताए ।

सडकमा कलाकारहरुले गीत मार्फत नेपालको स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकतामाथि प्रहार भएको भन्दै त्यसलाई बचाउन एक भएर लड्नु पर्ने भाव ब्यक्त गरेका थिए । जनकलाकारहरु, प्रदिप देवान, साजन राई, प्रदिप बम्जन, लक्ष्मी गुरुङ्ग लगायतले राष्ट्रिताका पक्षमा गीत गाएका थिए । नेपालको लिपु लेक र लिम्पियाधुरा सम्मको भुभाग नेपालको रहेको र उक्त भुभाग भारतको नक्सामा देखिए पछि नेपाल र भारत बीच सिमा बिवाद चर्किएको थियो ।