प्रधानमन्त्रीको शल्यक्रिया सफल

दियोपोस्ट संवाददाता

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ । उनको अपरान्ह १ः०० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सकिएको हो ।

कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेका हुन् ।

‘पेट दुखेर ल्याइएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि गरिएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनलाई अहिले अप्रेसन कक्षबाट आइसियूमा सारिएको छ । प्रधानमन्त्रीको शल्यक्रिया सकिएसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल अस्पतालबाट बाहिरिएका छन् ।

अत्यन्तै बढी पेट दुखेपछि प्रधानमन्त्रीलाई बिहान ९ः३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो ।