ओलम्पियाकोसलाई पराजित गर्दै टोटनह्याम नक आउट चरणमा प्रवेश

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर ११ । च्याम्पियन्स लिगको समूह बीमा टोटनह्याम उपविजेता बनेर नकआउट चरणमा पुगेको छ । ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोलले पराजित गर्दै टोटनह्यामले अन्तिम १६ को यात्रा पक्का बनाएको हो ।

दुई गोलले पछि परेको अवस्थामा टोटनह्यामले नतिजा उल्टाएको थियो । छैटौं मिनेटमै युसुफ एल अराबिले गोल गर्दै ओलम्पियाकोसलाई अग्रता दिलाएका थिए । १३ मिनेटपछि रुवेन सेमेडोले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दा टोटनह्याम २–० ले पछि रह्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा डेले अलिले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।

दोस्रो हाफको खेल टोटनह्यामले आफ्नो पकडमा लियो । ५०औं मिनेटमा ह्यारी केनले लुकास मोउराको पासमा गोल गर्दै खेल बराबरीमा पु¥याए ।

त्यसपछि ७३औं मिनेटमा सर्जी अउरियरले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ७७औं मिनेटमा क्रिष्टियन इरिक्सनको फ्रिकिकलाई ह्यारी केनले गोलमा परिणत गर्दै टोटनह्यामलाई नकआउट चरणको यात्रा गराए ।

सम्बन्धित खबर