जुवाखालबाट पक्राउ परेका प्रधानमन्त्रीका एडिसी जिम्मेवारीमा फर्किए

दियो पोस्ट  

काठमाडौँ, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको एडिसीको रुपमा कार्यरत मेजर राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्केका छन् । साथीको घरमा जुवा खेलीरहेको अवस्थामा शाही सहित शाहीसहित घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए । उनिहरुको साथबाट एक लाख ५९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो ।

जुवाखालबाट पक्राउ परेपछि उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो । लगत्तै कात्र्तिक २० मा उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश जारी गरेको थियो ।

शाही धरौटीमा रिहा हुनेबित्तिकै पुनः प्रधानमन्त्रीको एडिसीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारी कोषबाट तलव खाने र सुविधा लिने कोही कुनै पदमा छ भनेपनि त्यो निलम्बन हुनेछ । फौजदारी अभियोगमा अदालतले तारेखमा राखेको व्यक्तिलाई आफ्नो एडीसीको रुपमा राख्नु न्यायपालिकाको अवज्ञा त हो नै न्याय प्रक्रियामा हस्तक्षेप हो ।

प्रधानमन्त्री ओलीको एडीसीको पूर्ववत् जिम्मेवारीमा फर्काइएपछि जंगीअड्डाको नीतिमाथि प्रश्न उठ्नसक्ने भन्दै कतिपय सैनिक अधिकृतले चिन्ता व्यक्त गरेका छन् । जंगीअड्डाका अनुसार शाही फेरि जिम्मेवारीमा फर्किए पनि आन्तरिक अवसरहरुबाट भने उनी बञ्चित हुनेछन् । बढुवामा समेत उनलाई असर पुग्नेछ । सेनाले आचरण र मर्यादा विपरीत काम गरेको आरोपमा पछिल्लो ९ महिनामा २ सय ४ जना सैनिकमाथि कारबाही गरिसकेको छ ।