काठमाडौँ, मङ्सिर १३ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले हालको ग्रेटर नेपालको नक्सासहितका ऐतिहासिक दस्तावेज उपलब्ध गराउन सरकारलाई पत्राचार गरेको थियो ।
समितिले सन १८१५ को सुगौली सन्धि, शान्ति तथा मैत्री सन्धि, ग्रेटर नेपालको नक्सालगायतका महत्वपूर्ण कागजात माग गरेको थियो । सन्धिलगायतका दस्तावेज समितिले परराष्ट्र मन्त्रालयसँग माग गरेको थियो ।
समितिका सभापति रामनारायण बिडारीले ग्रेटर नेपालको नक्सासहितका ऐतिहासिक दस्तावेज माग गरिएकोमा प्राप्त नभएको बताए ।
दस्तावेज उपलब्ध गराउन ताकेता गरेको भन्दै उनले अहिलेसम्म प्राप्त नभएको बताए ।
यसअघि समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग दस्तावेजका विषयमा छलफल गरेको थियो । उक्त छलफलमा मन्त्री ज्ञवालीले दस्तावेजको अवस्थाबारे अनभिज्ञता प्रकट गर्दै खोजी भने भइरहेको जवाफ दिएका थिए ।
उनले उक्त दस्तावेजबारे ब्रिटिस लाइब्रेरीसम्म पनि सोधखोज गर्ने काम भइरहेको जवाफ समितिलाई दिए ।
दस्तावेज तत्कालीन दरबारमा भएको भए थप खोजी गर्नुपर्ने जवाफ दिएका थिए । समितिले थप अध्ययनका लागि उपसमिति पनि गठन गरेको थियो । उपसमितिले पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालयलगायतमा अध्ययन गरिसकेको छ ।
समितिले दरबारमा दस्तावेज भएको भए तत्कालीन अवस्थामा राजाको बहिर्गमनमा समन्वय गर्नुभएका काँग्रेस नेता कृष्ण सिटौलासँग पनि परामर्श गर्ने निर्णय गरेको छ । समितिले बुधबारको बैठकमा नेता सिटौलालाई आमन्त्रण गरी छलफल गर्ने निर्णय गरेको छ । तर, मिति भने यकिन गरिसकेको छैन ।
गोरखापत्र दैनिकले लेखेको खबर अनुसार, समितिले ऐतिहासिक दस्तावेजसँगै सम्पूर्ण, सरकारी निकाय, स्वायत्त तथा सङ्गठित संस्थासँग ऐन, नियमावली र सोअनुसार बनेका सम्पूर्ण कानुन माग गरेको थियो ।
ती कानुन प्रत्योजित अधिकारअनुसार बनाइएका छन वा छैनन् भन्ने अध्ययन पनि समितिले गरिरहेको छ ।