काठमाडौँ, मंसिर १३ । दैलेखको गुँरास गाउँपालिका–४ मा माइक्रोबस दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको भे १ ज १०२९ नम्बरको माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा बर्दियाको मधुवन नगरपालिका–६ सानोश्रीका २९ वर्षका नामबहादुर बडुवाल र उनकी श्रीमती २७ वर्षकी कमला बडुवाल र सुर्खेतको बीरेन्द्रनगर नगरपालिका ३ तातोपानीका ५३ वर्षका थीरबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।
सडकमा पानी जमेको खाल्डो छल्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । माईक्रोबस सडकबाट १ सय ३ मीटर तल खेतमा पुगेको छ । बीरेन्द्रनगर नगरपालिका १८ का गाडी चालक नरेश शाहीसहित घाइतेको सुर्खेतको देउती नर्सिङ र प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।