मतदान सुरु, ५ बजेसम्म भोट हाल्न पाईने

दियो पोस्ट  

काठमाण्डौ, मंसिर १४ । देशका विभिन्न ठाउँमा अहिले उपचुनाव भैरहेको छ । उपनिर्वाचनमा अहिले मतदाताहरुले मतदान गर्न सुरु गरेका छन् ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

मतदानका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगले बिहीबार र शुक्रबार सबै मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरे पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन आयोगले सबै मतदान अधिकृतलाई निर्देशन दिएको छ ।
सम्बन्धित समाचार

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।

उपचुनाव हुने क्षेत्रमा एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका अधिकारीबाट स्वीकृत सवारी पास पाएकाबाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको छ ।

२०७४ सालको को चुनावमा विजयी जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही र अरु कारणले पद रिक्त भएकाले ५२ ठाउँमा आज उपचुनाव भएको हो ।